महाकाली अस्पतालमा अक्सिजनका लागि पाँच लाख सहयोग गर्ने भीमदत्तका मेयरको घोषणा

महेन्द्रनगर, १७ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि पाँच लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिले शुक्रबार दशैं, तिहार र छठको अवसरमा आयोजना गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख विष्टले चालु आर्थिक वर्षमा अक्सिजन खरिदका लागि सहयोगको घोषणा गर्नु भएको हो ।

‘यो अस्पताल नगरपालिकामा पर्छ, स्थानीय तह निर्वाचनपछि अस्पताल सुधारलाई विशेष प्राथमिकता दिएर अघि बढेका छौ, त्यसका लागि नगरपालिकाले सक्दो सहयोग र पहल कदमी गर्दै आएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘नगरपालिका सहयोगलाई निरन्तरता दिन्छ, तत्काललाई अक्सिजन खरिदका लागि पाँच लाख सहयोग गर्छौ ।’

स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले अस्पतालको गुरु योजना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । यसैगरी भीमदत्त नगरपालिका कार्यालय र भीनपा वडा नं. १८ ले अस्पतालको शव गृहका लागि दुई ओटा मर्करी चेम्बर उपलब्ध गराएका थिए । नगर प्रमुख विष्टले अस्पताल सुधार र स्तरोन्नतिका लागि स्थानीय सरकारबाट सकिने सबै सबै सहयोग र पहल गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

नगर प्रमुख विष्ट सहित संघीय साँसद निरुदेबी पाल, सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय लाल बहादुर खड्का र मान बहादुर सुनारले अस्पताल सुधारका लागि सक्रिय रुपमा प्रतिबद्धता जनाउनु भएको छ । ‘हाम्रो भीमदत्त नगरका मेयर विष्ट सहित प्रदेश सभा सदस्यद्वय मान बहादुर सुनार, लाल बहादुर खडका र प्रतिनिधी सभा सदस्य निरुदेवी पालले समेत महाकाली अस्पताललाई साच्चिकै सुधारका लागि आ–आफ्नो तर्फबाट सक्दो पहल गर्ने बचन दिनु भएको छ’ अस्पताल विकास समितिका सदस्य कृष्णानन्द भट्टले भन्नु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) को अध्यक्षतामा गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी सहित सरोकारवालाहरु सहभागी भएका छन् ।  अध्यक्ष जोशीले अस्पताल सुधारका लागि भौतिक र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सबैको साथ र सहयोग चाहिएको बताउनु भयो । चार दशक अघि स्थापना भएको महाकाली अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल नामाकरण गरिएको छ ।

Loading...