भीनपा ५ को कबड्डी प्रतियोगितामा १६ टीम सहभागी

महेन्द्रनगर, २३ असोज
भीमदत्त नगरपालिका वडा नं. ५ मा शुक्रबारदेखि सुरु हुने वडा स्तरीय कबड्डी प्रतियोगिताको सबै तयारी पूरा गरिएको
छ । प्रतियोगितामा सहभागी हुन १६ टीमले नाम दर्ता गराएका छन् ।

भीनपा–५ का वडा अध्यक्ष मदन बहादुर चन्दले कबड्डी प्रतियोगिताको सबै तयारी पूरा गरिएको जानकारी दिनु भयो ।
‘तयारी सबै पूरा गरिएको छ , विहान ११ बजे प्रतियोगिता उद्घाटन कार्यक्रम राखिएको छ’ वडा अध्यक्ष चन्दले भन्नु भयो,‘ प्रतियोगितालाई सभ्य र भव्य बनाउने प्रयास गरिएको छ ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा वडा नं. ४, १५, ११ र १२ का टीम सहभागी नहुने देखिएको छ । ती वडाका टीमले बिहीबारसम्म नाम दर्ता गराएका छैन ।

वडा कार्यालयले कबड्डी प्रतियोगिता आयोजना गर्न लागेकोमा कबड्डी खेलका सरोकारवालाले सन्तुष्टि जनाएका छन् ।
जिल्ला कबड्डी संघ कञ्चनपुरका कोषाध्यक्ष शरद चन्दले वडाको कबड्डी प्रतियोगिता आयोजनालाई खेलकूदको विकासमा प्रशंसनीय कार्य भएको बताउनु भयो ।

‘यो एकदमै राम्रो कार्य हो, यसलाई निरन्तरताको कामना गर्छु’ कोषाध्यक्ष चन्दले भन्नु भयो,‘यसबाट कबड्डी खेलको विकास हुन्छ, नयाँ खेलाडी उत्पादन हुन्छन्, समग्रमा खेलकूद क्षेत्रमा यसले सकारात्मक सन्देश दिएको छ ।’ भीमदत्त नगरपालिकाले खेलकूदको विकासका लागि हरेक वडामा वडा स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Loading...