भीमदत्तको एकै वडामा दुई खानेपानी योजना सञ्चालन

महेन्द्रनगर, ७ कार्तिक
भीमदत्त नगरपालिका वडा नं. १० मा दुई ओटा खानेपानी आयोजना सञ्चालन गरिएका छन् । नगर वासिन्दालाई स्वच्छ खानेपानी पुगाउने लक्ष्य अनुसार ती दुई खानेपानी योजना सञ्चालन गरिएका छन् । वडा नं. १० को विपन्न दलित वस्तीमा श्रीलंका खानेपानी तथा सरसफाई योजना सञ्चालन गरिएको छ ।

डेढ सय बढी घर परिवारलाई खानेपानी सुविधा पुगाउन खानेपानी योजना बनाउन लागिएको छ । वर्षौदेखि दलित समुदायका तीन दर्जन बढी परिवार श्रीलंका वस्तीमा बस्दै आएका छन् । वस्तीलाई मध्यनजर गरी खानेपानी योजना सञ्चालन गरिएको छ । स्थानीयको एक प्रतिशत लागत सहभागिता हुने योजनाको निर्माण कार्य अघि बढेको छ । गत वर्ष भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शिलान्यास गरेको योजनाको पर्खाल निर्माण गरिएको छ ।

भीनपा वडा नं. १० मा अर्को चक्कीफाँटा खानेपानी तथा सरसफाई उपभोक्ता योजना सञ्चालनमा आएको छ । योजनाबाट तीन सय भन्दा बढी घर परिवारलाई खानेपानी सुविधा पुगाउने लक्ष्य राखिएको छ । स्थानीय टेकेन्द्र भट्ट र कृष्णदत्त भट्ट दाजु भाईले यो योजनाका लागि दुई कट्टा जमिन दान दिएका छन् ।

अहिले खानेपानी योजानको पर्खाल निर्माण गरिएको छ । केही दिन अघि योजनाको बोरिङ्गको ठेक्का गरिएको छ ।
भीमदत्त नगरपालिका वडा नं. १० का अध्यक्ष प्रमानन्द जोशीले वडाका वासिन्दालाई सफा र स्वच्छ खानेपानी पुगाउने लक्ष्य अनुसार खानेपानी योजना सञ्चालन गरिएको बताउनु भयो । ‘सबै वासिन्दालाई सफा र स्वच्छ खानेपानी उपलब्ध गराउन चाहन्छौ’ वडा अध्यक्ष जोशीले भन्नु भयो,‘त्यस अनुसार अहिले दुई योजना सञ्चालन गरिएका छन्, अन्य योजना सञ्चालनका लागि पनि छलफल गरिरहेका छौ ।’

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्ट, वडा अध्यक्ष जोशी, वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द, समाजसेवी प्रकाश जोशीले दुबै खानेपानी योजनाको स्थलगत अनुगमन गर्नु भएको छ । स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टको पहलमा नगरपालिकाका अधिकाँश वडामा खानेपानी योजना सञ्चालन गरिएका छन् ।

नगर प्रमुख विष्टको पहलमा भीनपा वडा नं. ८ नगरको सबैभन्दा ठूलो ३४ करोडको खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीयले लागत सहभागिता जुटाउन नसकेर फिर्ता हुन लागेको योजना नगर प्रमुख विष्टको पहलमा सुरु गरिएको
छ । स्थानीय तह निर्वाचनमा गरिएका वाच अनुसार नगर प्रमुख विष्टले सफा र स्वच्छ खानेपानी योजना निर्माण कार्यलाई प्राथमिकता दिनु भएको हो ।

Loading...