दुई दशकदेखि बन्द मझगाउँ विमानस्थल सञ्चालनमा आउने

महेन्द्रनगर, २५ माघ
सरकारले दुई दशकदेखि बन्द मझगाउँ विमानस्थल सञ्चालनका लागि तयारी सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण लगायतका कार्य सुरु गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल स्थलगगत निरीक्षण गरी विमानस्थल सञ्चालनलाई प्राथमिकता दिइएको बताउनु भयो । ‘यो विमानस्थल सञ्चालनमा आउँछ, त्यसका लागि आउँदो वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाइनेछ’ भीमदत्त नगरपालिकाले आयोजना गरेको मझगाउँ विमानस्थल सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा मन्त्री भट्टराइले भन्नु भयो, ‘त्यसका लागि अर्को वर्ष पूर्वाधार बनाउँछौ, त्यसपछि सञ्चालमा जान्छौ ।’

मन्त्री भट्टराईले २०५१ को मध्यावधि निर्वाचनमा आफू तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीसित चुनावी प्रचारका लागि मझगाउँ विमानस्थलमा उत्रिएको स्मरण गर्नु भयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यट प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिदैं उनले महाकाली नदीमा निर्माणाधिन देशकै सबैभन्दा ठूलो नमूना पक्की पुलले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।

नगरपालिका सभा कक्षमा औपचारिक कार्यक्रम अघि मन्त्री भट्टराईले जनप्रतितिधि र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहित विमानस्थल निरीक्षण गर्नु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा स्थानीय, प्रदेश र संघका साँसद, स्थानीय तहका प्रमुख, पूर्व जनप्रतिनिधि लगायत सहभागी भएका छन् ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टले स्थानीय, प्रदेश र संघ सरकार विमास्थल सञ्चालनका लागि सक्रिय रुपमा लागेको बताउनु भयो । ‘तिनै तहबीच विमानस्थल सञ्चालनका लागि सहकार्य भएको छ, त्यस अनुसार विमानस्थल सञ्चालनमा आउँछ’ साँसद भट्टले भन्नु भयो ।

विमानस्थलमा तारबार गर्न यस वर्ष साँसद भट्ट सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार, भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाले बजेट विनियोजन गर्नु भएको छ । साँसद भट्टले निर्वाचन क्षेत्र नं. ३ मा विकासका ठूला आयोजना सञ्चालन गरिएको उल्लेख गर्दै अनावश्यक विरोध गरी अवरोध गर्न खोजिएकोमा असन्तुष्टि जनाउनु भयो ।  ‘विकासलाई रोक्न कार्य भएको छ, त्यसका लागि केही उच्छृङ्खल कार्य भएका छन्, यस्ता कार्य रोकिनु पर्छ’ साँसद भट्टले भन्नु भयो ।

कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीले मझगाउँ विमानस्थल विना कारण बन्द गरी जनतालाई दुख दिने कार्य भएको उल्लेख गर्दै तत्काल सञ्चालन गरिनु पर्नेमा जोड दिनु भयो । विमानस्थल बन्द हुँदा पर्यट क्षेत्र फस्टाउन नसकेकाले विदेशी पर्यटकलाई हवाई भाडामा छुट गरिनु पर्ने साँसद धामीको जोड थियो ।

नेकपाका नेता पूर्व मन्त्री उर्वादत्त पन्तले मझगाउँ विमानस्थल चलि रहेको अवस्थामा बन्द भएकाले सञ्चालनका लागि समस्या नहुने बताउनु भयो । ‘यो विमानस्थल चलि रहेकै अवस्थामा बन्द भएको हो, किन भयो कसरी भयो’ पन्तले भन्नु भयो, ‘सरकारले नयाँ स्थानमा समेत विमानस्थल बनाई रहेकाले यसलाई सञ्चालन गर्न समस्या हुँदैन ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनका लागि अर्को वर्ष भवन, टावर लगायतका संरचना निर्माण गरिने बताउनु भयो । महानिर्देश पोखरेलले विमान सञ्चालनका लागि एक हजार छ सय मिटरको रनवे चाहिएको बताउनु भयो ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्दले मझगाउँ विमानस्थल सुदूरपश्चिम प्रदेशको सबैभन्दा पूरानो भएकाले विमानस्थल सञ्चालनमा हुनेमा आशावादी भएको बताउनु भयो । ‘यो ६ दशक पूरानो सुुदूरपश्चिमकै पुरानो विमानस्थल हो, उत्तर दक्षिण भएर चलेको थियो,पछि के कारणले हो बन्द भयो, ’ चन्दले भन्नु भयो, ‘अब मन्त्रीज्यू नै सकारात्मक हुनु हुन्छ, यो विमानस्थल सञ्चालनमा हुनेमा आशावादी छौ ।’

नेकपा नेता भट्टराइले मन्त्रीमा नियुक्त भएपछि गत असोजमा विमानस्थल सञ्चालनका लागि प्राविधिक अध्ययन गराउनु भएको थियो । रियल कन्सलटेन्टका इन्जिनियर गुरुराज अधिकारी नेतृत्वको टीमले सम्भाव्यता अध्ययन गरेको थियो । कार्यक्रममा इन्जिनियर अधिकारीले विमानस्थलको प्राविधिक विषयमा जानकारी गराउनु भयो । अधिकारीले विमानस्थलको एक हजार ६ सय मिटर लम्बाई भए पनि एक हजार चार सय २० मिटरमा टेक अफ रनव बनाउन सकिने बताउनु भयो । विमानस्थल पुनः सञ्चालनका लागि ६० करोड बजेट चाहिने इन्जिनियर अधिकारीले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख विष्टले पर्यटन मन्त्री भट्टराइको कार्यकालमा विमानस्थल सञ्चालन हुने अपेक्षा राखिएको उल्लेख गर्दै नगरपालिकाका विमानस्थल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले स्वागत मन्तव्य राख्नु भयो । भीनपाका प्रशासकीय अधिकृत हरि सिह धामीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिमा प्रदेश सभा सदस्यहरु तारालामा तामाङ्ग, प्रकाश रावल, मान बहादुर सुनार, पूर्व उप सभामुख भोजराज जोशी, नेकपाका जिल्ला अध्यक्ष बीर बहादुर थापा, जिल्ला समन्वय समितिका उप प्रमुख सानु बुडथापा महरा, बेदकोट नगर प्रमुख अशोक चन्द, भीमदत्तका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल लगायतका सहभागी हुनु भएको छ ।

Loading...