भीमदत्तमा हात्तीपाइलेको औषधि खुवाउन घरदैलो

महेन्द्रनगर, २६ माघ
भीमदत्त नगरपालिकामा घरदैलोमा हात्तीपाइले विरुद्ध औषधि खुवाउन सुरु गरिएको छ । शनिबारदेखि सुरु राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान २०७६ को आम औषधि सेवन कार्यक्रम अन्र्तगत आइतबारदेखि औषधि खुवाउन घरदैलो गरिएको हो । पहिलो दिन शनिबार नगरपालिका सबै औषधि खुवाइएको थियो ।

भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका अधिकृत भीम बहादुर महराले १० दिनसम्म घरदैलो गरी स्थानीयलाई औषधि खुवाइने बताउनु भयो । ‘आम औषधि सेवनको पहिलो दिन वडा केन्द्रमा औषधि खुवाइएको छ, आजदेखि घरदैलो गरी औषधि खुवाउन सुर गरिएको छ’ अधिकृत महराले भन्नु भयो,‘घरदैलोमा १० दिनसम्म औषधि खुवाउँछौ ।’

महाकाली अस्पतालबाट शनिबार औपचारिक कार्यक्रम गरी हात्तीपाइले विरुद्ध औषधि खुवाउन सुरु गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले औषधि खाएर अभियान प्रारम्भ गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार, महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायतले औषधि सेवन गर्नु भएको थियो ।

भीमदत्त नगरपालिकामा दुई वर्ष मुनिका बालबालिका, गर्भवति, गम्भीर रोगका समस्या भएका छाडेर एक लाख तीन हजारलाई औषधि खुवाउने लक्ष्य लिइएको छ । गत वर्ष एक लाखलाई औषधि खुवाइएको थियो । औषधि खुवाउन सबै वडामा ६० स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । त्यसमा ५० जना औषधि खुवाउने कार्यमा संलग्न भएका छन् ।

Loading...