एक पटक पुग्नै पर्ने धार्मिक, प्राकृतिक, सांस्कृतिक धरोहर झिलमिला ताल

प्राकृतीक सौन्दर्यताले भरीपुर्ण छ सुदुरपश्चिम प्रदेश । महाभारत पर्वत श्रृंखलाको कान्छो पहाडको मध्य भाग । चारैतिर घना जङ्गल, विचमा सफा सुन्दर र शान्त ताल, सुगन्धित वातावरण, चार तिर देवीदेवताका थान । तालको पानी कति कञ्चन भने, न त्यहाँ रुखका पात खसेका छन्, न पानीको कुनै निकास नै भेटिन्छ । अलौकिक सौन्दर्य नियालेर हेर्ने हो भने पानीका फोकाहरु हल्का गरी झिल्का जस्तो देखिने गर्छन ।

भीमदत्त नगरपालिका वडा नं. ९ चुरे पहाडमा झिलमिला ताल आफ्नो अलौलिक दृष्य देखाएर वर्षौदेखि आफ्ना आकर्षण आफै बयान गर्छ । पर्यटकीय हिसावले झिलमिला ताल स्वदेशी र विदेशी सबैको रोजाईमा पर्छ ।

विहान, दिउँसो र साँझ तीन पटक पानीको रङ्ग फेरिने गर्छ । विहान सुनहरा, दिउँसो निलो र साँझ हरियो आकारमा ताललाई देख्न सकिन्छ । दैनिक रङ्ग फेरिने भएकाले यसको नाम झिलमिला राखिएको हो । यसरी दिनदिनै रङ्ग फेरिएर झिलमिल हुने भएकाले यसको नाम झिलमिला रहन गएको किम्बदन्ति चलिआएको छ ।

महाभारतमा झिलमिला तालको अलौकिक शक्तिको वर्णन गरिएको छ । पाण्डवहरु वनबासाको समयमा द्रोपतीलाई पानीको प्यास लाग्यो । अर्जुनले रुखमा चढेर पानी भएको ताल देखेपछि एक भाईलाई त्यहाँ पठायो । पानी लिन गएका ती व्यक्ति फर्केर आएन । त्यसपछि गएका अर्का पनि फर्केन । सबैको त्यहीं ज्याना गयो । अन्तिममा युधिष्टिर आफैं पानी लिन गए । त्यहीं बेला तालबाट निस्केको अदृष्य शक्तिले युधिष्टिलाई प्रश्न सोधे । उनले प्रश्नको जवाफ दिएपछि उनलाई एउटा भाई जिउँदो माग्ने वर माग्न लगाइयो । युधिष्टरले सौतेलो भाई अर्जुनलाई जिउँदो माग गरे । त्यसपछि त्यो अलौलिक शक्ति खुसी भएर युधिष्टरका सबै भाईलाई जिउँदो बनाएरको कथा छ । ‘महाभारतको यो कथाले पनि यो तालमा अलौलिक शक्ति भएको विश्वास गरिन्छ’ समाजसेवी विष्ट भन्छन् ।

प्राकृतिक र धार्मिक दुबै हिसाबले तालले महत्व बोकेको छ । प्राकृतिक रुपमा चारैतिर जङ्गलले घेरिएको ताल दैनिक रङ्ग अदलबदल गरी मन लोभ्याउने गर्छ । दर्शनार्थीले फ्याकृेका अक्षता खान झुप्पामा आउने कालो कद भएका जुँगे माछाले मनलाई झन हौसाई दिन्छ । काला माछा बाहेक ताल सर्प बस्ने पनि देखिने गरेका छन् ।

अक्षता खान हुल बाँधेर आउने माछा सर्पसित डराएको जस्तो देखिदैन । वर्षौदेखि समान आकारमा देखिदैं आएका माछा दर्शनार्थीका नजरमा ठ्याक्कै पर्ने गर्छन् । तालको दैवीय शक्तिका कारण माछा मारेर खाने गरिएको छैन ।

डेढ किलोमिटर लम्बाईको ताल चार बिगाहामा फैलिएको छ । १७ मिटर गहिराईको ताल चारैतिरबाट साल, साज, जामुनको घना जङ्गलले ढाकिएको छ । तालको चारैतिर परिक्रमा गर्न परिक्रमा पथ निर्माण अघि बढेको छ । अहिले ६ सय मिटर लम्बाईको परिक्रमा पथ निर्माण पूरा हुने अपेक्षा गरिएको छ ।

तालको चार दिशमा देवी देवताका मन्दिर थपना छन् । दक्षिणतिर झिलमिला माताको मन्दिर छ । सुरुमा झिलमिला माताको दर्शन गरी ताललाई दाहिने गरी दर्शनार्थीले ताल परिक्रमा गर्छन् । माताको मन्दिर नजिक सिद्ध बैजनाथको थपना छ । पश्चिमी किनारमा काली अर्थात दुर्गा माता र अर्को छेउमा पूर्णागिरीको मन्दिर छ । ‘हरेक दर्शनार्थी सबै देवी देवताको पूजापाठ गरी फर्किने गर्छन्’ भीमदत्त नगरपालिका ब्रह्मदेबका शंकर सिह विष्टले भने ।

वर्षभरि दर्शनार्थी जाने झिलमिला तालमा माघे संक्रान्तिको अघिल्लो दिन भव्य रुपमा मनाइने गरिएको छ । त्यस दिन स्वदेश विदेशका दर्शनार्थीहरु रातभर जाग्राम बसेर भजन किर्तन गर्छन् । अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गरी घर फर्किने गरेका छन् ।

पूर्णागिरी मेला अर्थात चैते दशैँमा भारतका विभिन्न सहरबाट दर्शनार्थीहरु आएर ताल छेउको पूर्णागिरी माताको दर्शन गर्दै आएका छन् । दर्शनार्थीले मन्दिरमा चढाएका त्रिशुल र रङ्गिन वस्नले तालको शोभा बढेको छ ।

भीमदत्त नगरपालिकाको मटेनाबाट चुरेको जङ्गल हुँदै दुई घण्टामा तालसम्म पुग्न सकिन्छ । मटेनाबाट गहुँताणाी मन्दिर हुँदै ताराकोट भएर झिलमिला पुग्ने गरिएको छ । ब्रह्मदेब र कालिताल झरना बाटो भएर ताराकोट हुँदै तालसम्म पुग्ने बाटा छन् ।

मटेनामा ताराकोटसम्म ९ दशमदव ५ किलोमिटर र त्यसपछि डेढ किलोमिटर दुरी उकालो र तेस्रो बाटो पार गरी तालमा पुग्न सकिन्छ । दर्शनार्थीलाई सहज रुपमा तालसम्म पुगाउन सडक बनाउन सुरु गरिएको छ । भीमदत्त नगरपालिका तालसम्म पुग्न मोटर बाटो पुगाउने कार्य अघि सारेको छ । मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गरी तालसम्म सहज पुगाउने योजना अघि सारिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

‘तालको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउने सोचाईका साथ योजना अघि बढाएका छौ’ उनले भने,‘यसका लागि संघ र प्रदेश सरकार पनि पहल गरिरहेका छौ ।’

ताल नजिक पूजापाठ र बस्नका लागि पूर्वाधार निर्माण गरिएका छन् । धुनीघर, पूजारी घर धर्मशाला बनाइएको छ । धर्मलाशा दुई ओटा छन् । एउटा धर्मशालामा दर्शनार्थी पर्यटकलाई खाना पकाउनका लागि भाँडाकुँडा राखिएका छन् ।

अहिले पूजारी बस्ने घरमा यस अघि महात्मा बस्ने गर्थे । उनको निधनपछि पूजारी बस्दै आएका छन् ।

झिलमिलामा तालको प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिएका छन् । ताल वपिरि चक्रपथ निर्माण र ताल छेउमा बस्नका लागि बेञ्च राखिएका छन् ।

भीमदत्त नगरपालिका कार्यालयका नगर प्रमुख सुरेन्द्र बिष्टका अनुसार ” भीमदत्त नगरपालिको पर्यटनलाई नगर समृद्धिको प्रमुख आधार मानेको छ । त्यसमा धार्मिक पर्यटनलाई अझै प्राथमिकता राखेका छौ । धार्मिक पर्यटनलाई मध्यनजर गरी जैविक धार्मिक पर्यटन मार्ग बनाएका छौ । झिलमिला तालको पनि गुरु योजना बनाएर पर्यटकीय धार्मिक पर्यटकीय क्षेत्र बनाउन चाहन्छौ । ताल सहित कालिताल झरना, ताराकोट, गहुताणी खोलालाई समेटेर गुरु योजना बनाउँछौ ।

ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा पाँच तले भ्यू टावर बनाउँछौ । यस वर्षदेखि काम सुरु हुन्छ, त्यसका लागि यस वर्ष ८० लाख बजेट विनियोजन गरिएको छ । झिलमिलासम्म पक्की सडक पुगाउन सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण अघि बढेको छ । ताराकोटसम्मको पाँच किलोमिटर सडक कालोपत्रका लागि काम सुरु छ । पर्यटकलाई ताराकोटसम्म गाडीबाट पुगाएर त्यहाँबाट पदमार्ग भएर ताल पुगाउन चाहन्छौ । त्यस बाहेक भम्केनी धामबाट पदमार्ग निर्माण गरी पर्यटकलाई ताराकोट हुँदै झिलमिला पुगाउने योजना पनि छ । यो ताललाईनयाँ पर्यटकीय गन्तव्य सूचीमा समावेश गरिनु पर्ने हो, त्यसो हुन सकेन, यो दुःखद कुरा छ ।

रौटेला बाराकुण्डा क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झरना, महाकाली नदीको झोलुङ्गे पुल, खल्ला मुसेट्टीमा महाकाली नदीको मौनता लगायतका पर्यटकीय बनाउन पहल भई रहेको छ । झिलमिला तालसम्म विद्युत पुगाउन विद्युत प्राधिकरणसित पहल गरिएको छ ।”

कसरी पुग्ने झिलमिला ?

भीमदत्त नगरपालिका वडा नं. ९ मटेना, ब्रह्मदेब र भीनपा १० तिल्केनीबाट झिलमिला ताल पुग्न सकिन्छ । चुरे फेदमा दुई घण्टा पैदल हिँडेपछि ताल छेउमा पुग्ने गरिन्छ । यी तीनै ठाउँका बाटो ताराकोटमा जोडिन्छन् । भीमदत्त नगरपालिको भ्यू टावर प्रस्तावित ताराकोट यस अघि स्थानीय गोठ थिए । चुरे संरक्षण कार्यक्रम सुरु गरिएपछि ती गोठ हटाइएका थिए । ताराकोटबाट माथि झिलमिला हिँडेपछि माछा मासु खान नपाइने भएकाले ताराकोटलाई पिकनिक स्पट बनाउने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको योजना छ । मटेनाबाट गहुँताणी मन्दिर हुँदै जङ्गल छिचोल्दै ताराकोट पैदल पुगिन्छ । तिल्केनीको बाटो भएर ताराकोट पुग्न सकिन्छ । तिल्केनीबाट कालीनाल झरना देख्न पाइन्छ । त्यहाँबाट हिँडेर ताराकोट हुँदै झिलमिला पुग्न सकिन्छ । डडेल्धुराबाट आउनेले भने परशुराम नगरपालिका न्वाला गाउँ भएर आउने गरेका छन् । भीमदत्त नगर र परशुराम दुबै नगरपालिका जोड्न दुबै स्थानीय तह एकमत छन् ।

Loading...