“सबै नगर वासिन्दाको साथ र सहयोगले समृद्ध नगर बनाउँछौ”

संविधानमा तीन तहको शासन व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । स्थानीय तह निर्वाचनबाट भीमदत्त नगरपालिकाको नगर प्रमुखमा सुरेन्द्र विष्ट निर्वाचित हुनु भएको थियो । २०७४ असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएपछि असार २४ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको थियो । वहाँले नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि समृद्ध नगर बनाउने लक्ष्यका साथ अघि बढ्नु भएको छ । उत्तरी क्षेत्रमा धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ भने दक्षिणी क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण थालनी गरिएको छ । बाह्य र भित्री चक्रपथ निर्माण थालनी, छाडा चौपाया व्यवस्थापन, सडक कालोपत्रे, नयाँ बाटो निर्माण, ठूला खानेपानी योजना सञ्चालन, पहिलो पटक म्याराथन दौड र महाकाली नदीमा साहसिक जलयात्रा(¥याफ्टिङ्ग) को सफल परीक्षण लगायतका ऐतिहासिक कार्य गरिएका छन् । स्थानीय तह निर्वाचनपछिका दुई वर्षमा नगरको विकास, नीति, कार्यक्रम, योजना, समस्या र आगामी लक्ष्य सहितका विभिन्न विषयहरुमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसंग भीमदत्त अनलाइनका लागि गरिएको कुराकानी ।

स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । यो दुई वर्षमा भीमदत्त नगरपालिकाको विकासलाई के कसरी अघि बढाउनु भयो ?
नयाँ संविधानको व्यवस्था अनुसार २०७४ असार १४ गते स्थानीय तह निर्वाचन सम्पन्न भएपछि असार २४ गते पद तथा गोपिनयताको शपथ ग्रहण गरी जिम्मेवारी लिएको थिए । भीमदत्त नगरपालिकाको विकास र समृद्धिका लागि जनताले अमूल्य मत दिएको दुई वर्ष बितेको छ । अझै तीन वर्ष बाँकी छन् । दुई वर्षे कार्यकाललाई हेर्दा स्थानीय तह निर्वाचनमा गरिएका वाचा प्रतिवद्धताका आधारमा नगरपालिकाको विकास र समृद्धिका लागि कार्य गरिएका छन् । नगरको समग्र विकासका लागि २० वर्षे रणनीतिक योजना बनाउने कार्य प्रारम्भ गरिएको छ । चुनावका बेला नगरको विकास र समृद्धिका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ अघि जाने कुरा गरेका थियौ । दिगो विकासको कुरा अघि सारिएको थियो । शिक्षा, स्वास्थ्य, खेलकूद, महिला, बालबालिका, कृषि, पर्यटक, सिँचाई, यातायात लगायतका सबै क्षेत्रका कुरा गरिएका थिए । दिगो विकासको लक्ष्यलाई प्राथमिकता दिएर विकास निर्माणका कार्य गरिएका छन् । त्यस आधारमा बजेट विनियोजन गरिएको छ ।

दुई वर्षमा नगरपालिकाको पूर्वाधार विकासका उपलब्धि चाहिँ के के छन् ?
गत आर्थिक वर्षको समीक्षा भर्खर सकिएको छ । पहिलो र दोस्रो वर्षको समीक्षाका आधारमा पूर्वाधार विकास निर्माण कार्य सन्तोसजनक रुपमा अघि बढेको छ । घाँडीघाँच क्षेत्रमा धार्मिक पर्यटन मार्ग निर्माण गरिएको छ । यो सपनाको मार्ग थियो । बाटोघाटो, विजुली, सिँचाई, जङ्गली जनावरका समस्या घाँडीघाँचमा थिए । वर्षौदेखिको दुर्गम क्षेत्र यो बाटोले सुगमतातिर लम्किएको छ । खल्ला क्षेत्रमा यातायात सेवा पुगेको छ । नहर प्रणाली नभएकाले किसानहरुलाई सिँचाईका लागि बोरिङ्ग जडान गरिएको छ । जैविक चुलो जडान गरिएको छ । यसका लागि अनुदान दिइएको छ । तिलाचौरमा तीन वडाका लागि २८ करोड बढीको खानेपानी योजनाका लागि सम्झौता गरिएको छ । यो योजनाबाट ६, ८ र १० मा खानेपानीको समस्या समाधान हुनेछ । सबै वडामा नयाँ बाटो खोलिएका छन् । सडक कालोपत्रे गरिएको छ । सडकका ट्रयाक खोलिएका छन् । भीनपा १० को श्रीस्लंका टोलमा पहुँच मार्ग पुगेको छ । त्यहाँ नेपाल रेडक्रस सोसाइटीसितको साझेदारीमा पुल निर्माण र बाटो खोलिएको छ । त्यहाँ बाटो र पुल भएपछि बर्षौदेखि बाढीले बगाउने चिन्ता हटेको छ । श्रीलंकामै खानेपानी योजना शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकालाई सबै वडालाई एक आपशमा जोड्नका लागि बाहिरी चक्रपथ र भित्री चक्रपथ निर्माण कार्य सुरु गरिएको छ । बाहिरी चक्रपथको ८३ किलोमिटरको छ । यसको डिपिआर निर्माण भई सकेको छ । सहरी विकास कार्यक्रम अन्र्तगत सडक कालोपत्रे लगायतका कार्य गरिएका छन् । वडा वडामा ढल सहितका सडक निर्माण कार्य सहरी विकास अन्र्तगत भई रहेको छ । बजारमा रहेको पशु बधशाला केही दिनभित्र सञ्चालनको तयारी गरिरहेका छौ । शिक्षा, स्वास्थ्य, कृषि, विपद् लगायतका विभिन्न क्षेत्रमा पनि कार्यक्रम गरिएका छन् । स्वास्थ्य सेवामा पहुँच पुगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएका छन् । ज्येष्ठ नागरिकका लागि कार्यक्रम गरिएको छ । भीनपा १६ मा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको छ । यस वर्ष वडा नं. १० को जिमुवा स्वास्थ्य चौकी, वडा नं. ९ र १९ मा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने योजना छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन विद्यालय भर्ना अभियान सफल रुपमा सम्पन्न गरिएको छ । विद्यालयमा भर्ना हुने बालबालिकालाई झोला र कापी प्रदान गरिएको छ । बालबालिकाका अभिभावकहरुलाई प्रशंसा पत्र प्रदान गरी हौसला बढाउने कार्य गरिएको छ । खेलकूदमा म्याराथन दौड मार्च गरिएको छ । जसमा नेपालका म्याराथन धावक बैकुण्ठ मानन्धर सहभागी हुनु भएको थियो । स्वरोजगार बनाउन विभिन्न तालिम आयोजना गरिएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रसित समन्वय गरी डिप्लोमा तहका तालिम चलाउने सोच बनाएका छौ । केरा खेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदान र सिँचाईको व्यवस्था गरिएको छ । केराका नमूना पकेट क्षेत्र र थोपा सिँचाईको कार्यक्रम गरिएको छ । सबै क्षेत्रलाई समेटेर कार्यक्रम गरिएको छ । ५ करोड आन्तरिक राजश्वलाई बढाएर १३ करोडमा पुगाएका छौ । त्यसमा सफल भएका छौ ।

छाडा चौपाया व्यवस्थापनका लागि के कस्ता कार्य गरिए त ?
स्थानीय तह निर्वाचन हुन अघिदेखि नै छाडा पशु चौपायाको समस्या थियो । बागफाँटा र ब्रह्मदेबमा गौशाला बनाएर चौपाया व्यवस्थापन गरिएको छ । ब्रह्मदेबमा जगद्गुरुको अगुवाईमा चौपाया व्यवस्थापन गरिएको छ । त्यहाँ अहिले ५३ गाई पालिएका छन् । त्यसलाई व्यवसायिक गाई पालन केन्द्रका रुपमा विकास गर्न खोजिएको छ । यो समस्या गाई पाल्ने, दुध दिन्जेल घरमा राख्ने र त्यसपछि सडकमा छाडि दिनाले बढेको छ । सबैले सडकमा ल्याएर छाडि दिएपछि समस्या समाधान गर्न सहज हुँदैन । आमा समूह, टोल समूहm वडा कार्यालय, क्लब सबैसित सहकार्य गरी समाधानका लागि पहल गर्र्दै आएका छौ । प्रत्येक घरमा स्वयम् सेवक परिचालन गरी लगत लियौ, २८ हजार घरधुरी छन्, ती सबै घरमा पुग्यौ । पहिला र अहिलेको तुलना गर्ने हो भने छाडा पशु चौपायाको समस्या समाधान भई सकेको छ । गौशाला निर्माण गरिएका स्थानमा विकास निर्माण पनि गरिएको छ । ट्रान्सफरमर जडान गरी बत्तीको सुविधा पुगेको छ भने बाटोघाटो निर्माण गरिएको छ । यसले छाडा चौपाया व्यवस्थापनसं र विकास निर्माण कार्य पनि संगसंगै भएको छ ।

खासमा छाडा चौपाया व्यवस्थापनको समस्या र चुनौती के हो ?
छाडा चौपाया व्यवस्थापनका लागि जगद्गुरु समेत अभियान लिएर लाग्नु भएको छ । वहाँले गाईलाई सडकमा छाडेको देखेर गत वर्ष सुदूरपश्चिमको धर्मीमा फलेको अन्न त्याग गरेका थिए । यसबाट पनि यो समस्या समाधानका लागि सबै पक्ष क्षेत्रबाट पहलकदमी भएको स्पष्ट हुन्छ । भारतसित खुल्ला सीमा छ, छेकबार गर्न सकिने अवस्था छैन, छिमेकी नगरपालिकाबाट छाडा गाई गोरु आउने गर्छन्, त्यसलाई रोक्न पनि चुनौतीपूर्ण नै छ । हामी पूर्विया दर्शनामा विश्वास गर्छौ, गाईलाई धार्मिक, सामाजिक लगायतका कारणले माताका रुपमा मान्छौ, तिहारमा पूजा गर्छौ, गाईको दुध, दही, गहुँ, गोबर सबै प्रयोग गर्छौ । गाईलाई यति मान्दा समेत त्यसलाई लिएर सडकमा छाडा बनाई रहेका छौ, यो हाम्रो धर्म, संस्कृभित्र पर्दैन । दुध दिएसम्म घरमा राख्ने, त्यसपछि सडकमा लिएर छाड्ने प्रवृत्तिले समस्या बल्झिदै गएको थियो, चुनावपछि त्यसलाई समाधान गरेका छौ । त्यसका लागि गौशाला बनाइएको छ । घरबाट लिएर सडकमा छाड्दै जाने हो, त्यस अनुसार गौशाला बनाउने हो नगरपालिकाको एक वर्षको सबै बजेटले पनि पुग्दैन । आफ्ना गाई गोरु आफैले व्यवस्थापन गरी सबैले सभ्य नागरिकको परिचय दिनु आवश्यक छ ।

फोहर व्यवस्थापनमा के कस्ता कार्य गरिएका छन् त ?
फोहरबाट मोहर हुन्छ, जसले उत्पादन गर्छ, उसले व्यवस्थापन गर्नु पर्ने हुन्छ । कुहिने र नकुहिने फोहर वर्गीकरण गरी गत वर्ष कुहिने फोहरबाट ग्याँस उत्पादन गरिएको छ । फोहरबाट ग्याँस उत्पादन गर्न सकिन्छ भने त्यसलाई त्यसरी व्यवस्थापन गर्न पर्छ । हरेक शनिबार सरसफाई अभियान सञ्चालन गरिएको छ । समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । टोल विकास संस्थासित सहकार्य गरिएको छ । सरसफाई दूत मनोनित गरिएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रसित सरसफाई सवारी दुर्घटना, लागू औषध विरुद्ध जनचेतना अभियान लगायतका कार्यक्रमका लागि सहकार्य गरिएको छ । बजारमा निस्कने फोहरलाई नगरपालिकाले दैनिक व्यवस्थापन गर्दै आएको छ । यसको दिगो व्यवस्थापनका लागि पहल गरिरहेका छौ ।

दिगो व्यवस्थापन कसरी गर्ने योजना हो ?
फोहरको दिगो व्यवस्थापनका लागि नेपाल सरकार र दातृ निकायसित साझेदारी गरी अघि बढेका छौ । त्यसका लागि दिगो व्यवस्थापन केन्द्र नै बनाउने हो । अहिले नगरपालिका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको खोजी गरिरहेको छ । एशियाली विकास बैंकको सरकारलाई ऋण र नेपाल सरकारको भीमदत्त नगरपालिकालाई अनुदान दिईएको छ । त्यो ५३ करोड जति छ । काठमाडौंको फोहर व्यवस्थापन देखेर त्यस्तै केन्द्र बनाउन खोजिएको आशंका गरिएको छ । वास्तवमा काठमाडौंको जस्तो फोहर व्यवस्थापन केन्द्र बनाउन खोजिएको होइन । त्यो डम्पिङ्ग साइड हुन् । हामीले डम्पिङ्ग होइन, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने हो । त्यसमा आकाश र पातालको फरक छ । यसमा नगर वासिन्दालाई स्पष्ट पार्ने कार्यमा छौ । नगरपालिका भनेको कार्यालय मात्रै होइन, सबै वडाहरु पनि हुन् । कुनै न कुनै वडामा यो केन्द्र बनाउनै पर्ने हो । अन्त्येष्टि घाट वडा नं. ११ मा सुरु गरिएको छ , त्यहाँ महाकाली नदीमा अन्तिम दाहसंस्कार स्थल बन्दैछ । त्यस्तै फोहर व्यवस्थापन पनि कुनै न कुनै वडामा हुन्छ । यसका लागि सरोकारवाला, वडा कार्यालय, स्थानीय र विज्ञसित छलफल गरिरहेका छौ ।

महेन्द्रनगर बजार जिल्ला सदरमुकाम हो, यो बजार भीमदत्त नगरपालिकामा पर्छ । यो बजार व्यवस्थापका लागि के गर्नु भयो त ?
गाउँबाट सहरमा आएका छौ । सदरमुकाम भएकाले गाई घरबाट बसाई सराइ सर्ने दर दैनिक रुपमा बढ्दो छ । जनसंख्या वृद्धिसंगै सहरमा समस्था पनि जान्छन् । यो स्वभाविक हो । खानेपानी, शिक्षा, स्वास्थ्य, आवागमन, विद्युत सबैका समस्या थपिदै जान्छन् । सवारी साधन बढेपछि पार्किङ्ग समस्या बढ्छ । वासिन्दालाई सुरक्षाको प्रत्याभूति पनि गर्नु पर्छ । त्यसका लागि नगरपालिकाबाट प्राथमिकताका साथ यसमा लागेका छौ । सरोकारवाला निकाय, विज्ञ, नगर वासिन्दा सबैसित छलफल र सहकार्य गरी बजार व्यवस्थापन गरिरहेका छौ । महेन्द्रनगर बजार गुरु योजना बनाएर स्थापना गरिएको सहर हो । बजारका सबै गल्लीका सडक कालोपत्रे हुन्छन्, ढल निर्माण हुँदैन । क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत गल्लीहरुमा ढल सहितका सडक बनाउन सर्भे गरिएको छ । केही दिनभित्र ठेक्का प्रक्रियामा जान्छौ । पार्किङ्ग स्थल, विश्राम गृह लगायतका पूर्वाधार बनाउन नपासित जमिन अभाव छ , नगर विकासको जमिन छ, नगर विकास समिति अहिले खारेज गरिएको अवस्था छ । सब्जीमण्डीमा कञ्चन मल बनाउने तयारी छौ । पशु बधशालाको छिटो व्यवस्थापन हुन्छ , मण्डी अर्को ठाउँमा सार्छौ । बजारका यत्रतत्र छरिएका ठेलाको व्यवस्थापन गरिएको छ । वसपार्क क्षेत्रमा उज्यालो भीमदत्त अन्र्तगत सौर्य बत्ती जडान गरिएका छन् । आधुनिक वसपार्क निर्माण गरिएको छ । महेन्द्रनगर बजारलाई सुदूरपश्चिम प्रदेशको नमूना सहर बनाउने लक्ष्यका साथ अघि बढेका छौ । त्यस अनुसारका नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट विनियोजन गरिएको छ ।

अहिले बजार अनुमगनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ । यो बीचमा बजार अनुगमन गरियो त ?
नयाँ व्यवस्था अनुसार स्थानीय सरकारले धेरै अधिकार पाएको छ । बजार अनुगमनको अधिकार पनि त्यसैभित्र पर्छ । उद्योग बाणिज्य संघ सहितका सरोकारवाला सहित बजार अनुगमन समिति गठन गरिएको छ । बजार अनुगमन निर्देशिन पारित गरिएको छ । निर्देशिका आधारमा अनुगमनका कार्य गरिएका छन् । पूर्णागिरी मेलालाई मध्यनजर गरी ब्रह्मदेब बजार क्षेत्रमा अनुगमन गरिएको छ । स्थानीयबाट आउने गुनासाका आधारमा तत्काल अनुगमन गर्ने नीति लिएका छौ । यस वर्ष नगरका सबै बजारमा अनुगमन गर्ने छौ ।

ठूला पूर्वाधार निर्माणमा भीमदत्त नगरपालिकाको योगदान के रह्यो त ?
स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर धेरै योजना कार्यक्रम सञ्चालन गर्छ । ठूला सडक विस्तार, पुल निर्माण लगायतका कार्यहरु प्रदेश र संघ सरकारको क्षेत्राधिकारमा पर्छन् । नगरपालिकामा साना पुल र कल्भर्ट बनाउन सक्छ । महाकाली अस्पताल सुधारका लागि नगरपालिकाबाट हुने सहयोगका लागि सधैं तयार छौ । अस्पतालको गुरु योजना बनाएर हस्तान्तरण गरिएको छ । यस वर्ष शव सड्न नदिनका लागि मर्करी चेम्बरका लागि सहयोग गरिएको छ । मझगाउँ विमानस्थल सञ्चालनका लागि यस वर्ष नगर सभाबाट बजेट विनियोजन गरिएको छ । विमानस्थल सञ्चालनका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गर्दै छौ । नगर सभाबाट संकल्प प्रस्ताव पारित गरिएको छ । नगरपालिकाबाट ग्राभेलका कार्य गरिएका छन्, नयाँ बाटो खोलिएका छन् । १५ वर्षमा गरिएको भन्दा पछिल्ला दुई वर्ष बढी ग्राभेल गरिएको छ । जनताका अपेक्षा अधिक छन् । स्थानीय सरकारले ठूला पूर्वाधार बनाई दिए हुन्थ्यो भन्ने पनि छ, त्यो जायज छ, लामो समयपछि स्थानीय तह निर्वाचन भएर जनप्रतिधि आएकाले यस्ता अपेक्षा गरिएका छन् ।

स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने वाचा गर्नु भएको थियो । त्यो वाचा अनुसार समृद्ध नगर बनाउन के कस्ता कार्यक्रम अघि सार्नु भएको छ ?
स्थानीय तह निर्वाचनमा समृद्ध नगरको वाचा गरेका थिर्यौ, जनताले नगरको विकास, उन्नति, समृद्ध बनाउने जिम्मेवारी नगरपालिका पठाउनु भएको हो । चुनावका वाचा अनुसार समृद्ध नगरका लागि विभिन्न योजना र नीतिका साथ दिर्घकालिन योजना सहित अघि बढेका छौ । नगरपालिकाको २० वर्षे रणनीतिक योजना बनाई रहेका छौ । धार्मिक पर्यटन मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, बाह्य र भित्री चक्रपथ निर्माण कार्य सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा अघि सारिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हब बनाउन शुक्लाफाँटा पर्यटन महोत्सव गरिएको छ । झिलमिला तालसम्म पक्की बाटो बनाइएको छ । महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पहिलो पटक साहसिक जलयात्राको सफल परीग्क्षण गरिएको छ । बाराकुण्डामा १२ ताल पुनःभरण गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजिएको छ । महाकाली नदीको अन्त्येष्टि घाट, कञ्चन मल, भ्यू टावर, बाराकुण्डा ताल, बाह्य र भित्री चक्रपथको गुरु योजना निर्माण गरिएको छ । झिलमिला तालको गुरु योजना यस वर्ष निर्माण हुनेछ । नगरको आन्तरिक राजश्व बढाउने कार्यक्रम गरिएका छन् । दुई वर्ष अघिसम्म ५ करोड राजश्व हुने गरेकोमा अहिले १३ करोड पुगेको छ । राजश्व विना नगरको विकास र समृद्धिलाई जन अपेक्षा अनुसार अघि बढाउन सकिदैन । नगर वासिन्दालाई उत्पादनसित जोड्नका लागि भीमदत्त स्वरोजगार कार्यक्रम सञ्चालन गरिने लक्ष्य लिइएको छ । कृषिलाई व्यवसायिकरणका लागि एक वडा एक पकेट क्षेत्र अध्ययनका लागि नीतिगत निर्णय गरिएको छ । क्लिन सिटी ग्रिन सिटीका लागि एक घर एक विरुवा अभियान सञ्चालन गरिएको छ । तरकारीमा आत्मनिर्भर बनाउन एक घर दुई फलफूलका विरुवा वितरण अभियान सुरु गरिएको छ । खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन गरिएको छ । नगरका सबै महिलाहरु सुरक्षित राख्न र अप्ठेरोमा प्रतिवाद गर्न सक्ने बनाउनका लागि आत्मरक्षा तालिम दिइएको छ । चुनावमा नगर समृद्ध बनाउने मात्रै कुरा गरिएको थिएन, नगरको समृद्धिमा सबै नगर वासिन्दा साथ र सहयोगको पनि कुरा गरिएको थियो । सबै वासिन्दासित सीप र क्षमता छ , त्यो सीप र क्षमता नगरको विकास र समृद्धिका लागि महत्पपूर्ण छ , त्यसैले मैले सबै नगर वासिन्दालाई आफूसित भएको सीप र क्षमता नगरको विकास र समृद्धिका लागि सदुपयोग गर्न आव्हान गर्दै आएको छु । हरेक नागरिकलाई उत्पादनसित जोडेर हरेकका सीप र क्षमताबाट भीमदत्त नगरको समृद्धि हुने कुरालाई प्राथमिकता दिएर अघि बढेका छौ । सबैको साथ र सहयोगबाट भीमदत्त समृद्ध नगर हुनेमा आशावादी छौ ।

भीमदत्तको विकास र समृद्धिका लागि गरिएका कार्यक्रम पूरा गर्नका लागि दुई वर्षमा के कस्ता समस्या र चुनौती सामना गर्नु भयो ?
संविधानमा तीन तहको शासन व्यवस्था हुने व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएर स्थानीय सरकरा गठन गरिएको हो । नयाँ व्यवस्था, संविधान नयाँ, जनप्रतिनिधि नयाँ नै भए । नयाँ शासन व्यवस्थाको मर्म जनप्रतिनिधि र जनतालाई बुझाउन समय लागेको छ । कानुन निर्माणका सवाल छ, ती अधुरा नै छन् । कर्मचारी व्यवस्थापन अर्को समस्याको रुपमा छ । नीति निर्माण र तिनको कार्यान्वयनका समस्या छन् । कर्मचारी व्यवस्थापनमा ढिलाईले स्थानीय सरकारलाई जनताको अपेक्षा अनुसार सेवा प्रवाह गर्न बाधा अवरोध देखिएका छन् । नयाँ शासन व्यवस्थाको अर्थ जनप्रतिनिधि मात्रै होइन, कर्मचारीलाई पनि बुझाउन सकिएको छैन । लामो समयपछि निर्वाचन भएकाले जनताको चाहना, इच्छा, माग असीमित छन् , तिनलाई पूरा गर्न स्रोत साधन, जनशक्तिको अभाव छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत समस्यालाई स्रोत र साधनको उपलब्धताका आधारमा पूर्ति गरिरहेका छौ । शान्ति सुरक्षाको सवाल छ । जनताले स्थानीय सरकारलाई नै शान्ति सुरक्षाका लागि आग्रह गरि रहेका छन्, यो संघीय सरकार मातहत छ, तर जनता सरकार भनेपछि स्थानीयले नै शान्ति सुरक्षाको प्रत्याभूति गरि देओस भन्ने चाहन्छन् । जनताको चाहना अनुसार वहाँहरुका हरेक समस्यामा स्थानीय सरकार सहकार्य र समन्वय गरिरहेको छ । संविधानका व्यवस्था अनुसार प्रदेश र संघीय सरकारका साझा अधिकारको सूचीका विषय छन् । संघ र प्रदेश सरकारले कतिपय विषयमा कानुन नबनाउँदा त्यसको सिदा असर स्थानीय सरकारमाथि परेको छ । स्थानीय सरकार आफ्नै एकल अधिकार छन्, ती अधिकारलाई कानुन निर्माण गरी कार्यान्वयनतर्फ लगेका छौ । जनताको विकास र समृद्धिको चाहनालाई पूर्ति नगरको आन्तरिक राजश्व वृद्धिका लागि ठोस कार्य योजना सहित अघि बढेका छौ ।

यी दुई वर्षमा तपाईप्रति जनताको धारणा के पाउनु भएको छ ?
जनताले गोप्य मत दिएर निर्वाचित गरेपछि मैले गर्ने हरेक कार्यमा वहाँहरुको निगरानी हुन्छ, त्यो हुनु पर्छ । जनताको अपेक्षा धेरै छन्, मैले यो कुरा यस अघि पनि भनि सकेको छु । समाज विकासको क्रमसंगै जनताको इच्छा आकाँक्षा बढ्दै जान्छन् । यो स्वभाविक छ । जहाँसम्म दुई वर्षमा मैले मप्रतिको धारणा सकारात्मक नै पाएको छु । भीमदत्तको विकास र समृद्धिका लागि सुरु गरिएका सबै कार्यमा सबै जनताको साथ र सहयोग पाएको छु । पहिलो वर्षमा जनताले छाडा चौपाया व्यवस्थापनको चाहना राख्नु हुन्थ्यो, त्यो समाधान गरिएको छ । बाटो घाटोमा ग्राभेलको माग सबैभन्दा बढी आउँछ, त्यसमा पनि जनता सन्तुष्ट हुने गरी कार्य गरिरहेका छौ । युवालाई उत्पादनसित जोड्ने कुरामा जनताको राम्रो फिडब्याक आएको छ । धार्मिक पर्यटन मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग सहितका पूर्वाधार निर्माणलाई जनताले ऐतिहासिक विकासका रुपमा लिएको अनुभूति भएको छ । बेरोजगारी समस्या समाधानका लागि कुरा आउने गरेका छन्, त्यसका आधारमा युवालाई उत्पादनसित जोड्ने कुरा गरिएको छ ।

अन्त्यमा, तपाईको अबको अठोट के हो ?
भीमदत्त नगरको विकास र समृद्धिको खाका तयार गर्छौ । त्यो २० वर्षे रणनीतिक योजना हो । अहिले त्यसको निर्माण प्रक्रियामा छौ । त्यसका आधारमा भीमदत्तलाई विकासको बाटोमा लैजान्छौ । समृद्ध नगर बनाउँछौ । निजी र सहकारी दुबै क्षेत्रसित सहकार्य र समन्वय गरी नगर विकासका कार्यक्रम सञ्चालन गर्छौ । कृषि र पशुपालन क्षेत्रलाई व्यवासायीकरण गरी वासिन्दालाई आत्मनिर्भर बनाउँछौ । हरियाली नगरको लक्ष्य पूरा गरेर जान्छौ । उज्यालो भीमदत्त कार्यक्रम सुरु गरिएको छ , यसलाई सबै वडामा पुगाउँछौ । हरेक वासिन्दाको सीप र क्षमतालाई भीमदत्तको समृद्धि र विकासमा सदुपयोग गर्छौ ।

Loading...