बडैपुरमा देउडा प्रतियोगिता सुरु

महेन्द्रनगर, १३ भदौ
भीमदत्त नगरपालिका वडा नं. १३ बडैपुरमा देउडा प्रतियोगिता सुरु भएको छ । भीनपा वडा नं. १३ वडा समितिले गौरा पर्व तथा तीजको अवसर पारी देउडा प्रतियोगिता आयोजना गरेको छ ।

भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिहले शुक्रबार औपचारिक कार्यक्रमकाबीच प्रतियोगिता उद्घाटन गर्नु भयो । सो अवसरमा कार्य वाहक नगर प्रमुख चन्दले देउडा प्रतियोगिताबाट धर्म संस्कृतिको जगेर्नामा टेवा पुग्ने बताउनु भयो । ‘धर्म र संस्कृतिका संरक्षणमा यस्ता कार्यक्रमले सहयोग पुग्छ, यो कार्यक्रम गरिएकोमा वडा समितिमा धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दुछु’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो ।

भीनपा वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्य शंकर प्रसाद उपाध्यय सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय सहभागी भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष शाहीले देउडा सुदूरपश्चिमेली संस्कृतिको पहिचान भएकाले संरक्षणमा सहयोग पुगाउन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

वडाका ६ टीम सहभागी प्रतियोगितामा प्रथम २० हजार, द्वितीय १५ हजार र तृतीयलाई १० हजार सहित प्रमाण पत्र र सहभागी अन्य टीमलाई प्रमाण पत्र प्रदान गरिने छ ।आइतबारसम्म चल्ने प्रतियोगितामा भीदत्त पन्त, भोजराज भट्ट, कृष्णसिह साउद निर्णायक छन् ।

 

Loading...